निकोलो मेकियावेली- एक युरोपियन "चाणक्य"

🔘राजनीतिक शासकिय सिद्धान्तको छोटो चर्चा :-
 🔸शासक यनकी देशमा शासन गर्नेहरुले कहिल्यै पनि जन्ताको शत्रु बन्नु हुँदैन र जन्तासङ्ग कहिल्यै पनि शत्रुतापुर्ण व्यवहार गर्नु हुँदैन तर यो पनि होइनकी जन्तासङ्ग मित्रता गर्नको लागि राज्यमा खुशीनै फैलाउनु पर्छ। शासकले जन्ताप्रती ज्यादा दयावान बन्नाले पनि उक्त दया राज्यको विरुद्ध प्रयोग हुन सक्छ। मित्रता केवल एउटा राजनितिक हतियार हो जसको प्रयोगबाट शासकले राज्यमा स्थिरता ल्याइ आफ्नो शासनकाल लम्ब्याउन सक्छ।
🔸आवस्यक परेको समयमा जनतासङ्ग शासकले क्रुर पनि हुनुपर्छ भने धर्मप्रती आस्था होस वा नहोस धार्मिक देखिने कोसिस गरीरहनुपर्छ।
🔸राजनिती "बेइमानी र जालझेल"को संयोजन हो।
वास्तवमा आम मान्छेहरु लोभी,स्वार्थी, धुर्त र कृतघ्न हुन्छन। कसैको उपकारलाइ  सजिलै विर्षिन्छन।
त्यसकारण, जन्ताहरुलाई प्रेमको आधारमा नभइ दमनको भरमा नियन्त्रण गर्नुपर्छ।
🔸 यदि ठूलो लक्ष हासिल गर्नुछ भने त्यसको लागी अनैतिक बाटो अपनाउन पनि पछाडी हट्नु हुँदैन। तर उक्त अनैतिक बाटोबाट भविष्यमा जनताले राम्रो नतिजा देख्न पाउनुपर्छ ताकी शासकका यस्ता अनैतिक माध्यमलाइ जन्ताले सजिलै माफी दिन सकुन।
🔸 राजनीति अनैतिकता, बेइमानी, छल र दुष्टको संयोजन हो, त्यसैले शासकले दयालु हुनुपुर्व यो कुरा सोच्नुपर्छकि उसको दयाको कसैले अनुचित लाभ उठाउन नसकोस।
🔸राजा यनकी शासकको पहिलो कर्तव्य आफ्नो देशको रक्षा र दीर्घकालिन हित हुनुपर्छ। शासकले राजकाज गर्ने क्रममा कोहिप्रती केही अन्याय गर्नुपर्यो भने पनि हिचकिचाउनु हुँदैन,एकै पटकमा त्यो काम गरीहाल्नुपर्छ। किनकी राज्यको सुरक्षा, विकास र इज्जतका अगाडि सानितिनो अन्याय भन्ने कुरा गौण हुन जान्छ।
🔘 सिद्वान्तकारको सामान्य परीचय :-
                      आजभन्दा करीब ५५२ वर्ष पहिले संसारलाई यस्तो दुषित तर राजनीतिको घिनौलो खेलमा सत्य सावित भएको सिद्धान्त दिने निकोलो मेकियावेलीको जन्म इटलीको फ्लोरेन्स शहरमा सन 1469 भएको थियो। मेकियावलिका बुबा एक कुशल वकिल थिए। त्यसैले गर्दा पनि मेकियावेलिले सानै उमेरदेखी घरमै अनौपचारिक रुपमा व्यवहारीक शिक्षा हासिल गर्न पाए। उनले ग्रामर, ग्रीक लगायतका कैयौं विषयको अध्ययन गरेका थिए। मेकियावेलिले आफ्नो पहिलो जागीर सचिवको रुपमा गरे र पछि उनी फ्लोरेन्स सहरको चान्सलर पनि भए। राजनिती र शासनसत्ताको विषयमा मेकियावेलिले जुन किसिमको दमदार सिद्वान्त प्रतिपादन गरे, उनी त्यस्तै परीस्थितिमा हुर्के-बढेका थिए।

🔘युरोपको तत्कालिन परिस्थिति :-
                        मेकियावेलिको सिद्धान्तलाई बुझ्नको लागि युरोपको तत्कालीन परीस्थिती जान्नुपर्ने हुन्छ। त्यतिबेला युरोपमा अस्थिरता र हलचल व्याप्त थियो। इटली पनि कैयौं स-साना राज्यहरुमा विभाजित थियो। मेकियावेलि हुर्के-बढेको शहर फ्लोरेन्समा पनि गणतन्त्र अतिनै कम्जोर अवस्थामा थियो। त्यहाँ शक्तिको अनुपातमा सरकार बदलिरहन्थ्यो। धर्मगुरु "पोप"कै प्रभुसत्ता सर्वमान्य थियो भने केही क्षेत्रमा पोप र चर्चलाइ चुनौती दिनेहरु पनि थिए। उता फ्रान्स, स्पेन र रोमको बिचमा पनि समय-समयमा शक्तीसंघर्ष चलिरहन्थ्यो।
                        सन १४९४ मा फ्लोरेन्स शहरले गणतान्त्रिक शासनलाइ आत्मसाथ गरेर शक्तिशाली मेडिचि परीवारलाइ सत्ताबाट टाढा राखिदियो। जहाँ मेडिची परीवारले ६० वर्षसम्म शासन गरेका थिए। त्यही समयमा मेकियावेलि सरकारको सचिव बनेका थिए तर उनी लामो समयसम्म सचिवको पदमा रहेनन्। सन १५१२ मा चर्चको सहयोग लिएर मेडिची परीवारले फेरि गणतन्त्रतान्त्रिक सरकारको विरुद्वमा युद्वको आह्वान गर्यो। युद्व भयो, गणतान्त्रिक सरकारको हार भयो यनकी जन्ताको हार भयो। गणतान्त्रिक राजालाइ निर्वासित बनाइयो साथै फ्लोरेन्स शहरमा सरकारनै भङ्ग भयो। त्यसपछी मेकियावेलिको पनि खराब समय आयो। यीनै घटनाको गहिरो प्रभाव मेकियावेलिको सिद्धान्तमा परेको देखिन्छ।
                        सन १५१३ मा मेडिची परीवारले मेकियावेलिलाइ घुसपैठको आरोप लगाएर जेल चलान गर्दियो। जेलमा उनलाइ कठोर यातना दिइन्थ्यो। तर जस्तो सुकै यातना दिएपनि मेकियावेलिले आफु निर्दोष रहेको कुरा बार-बार बोलिरहे। अन्त्यमा तीन हप्तापछि मेकियावेलिलाइ रिहाइ गरीयो तर तत्कालीन प्रशासनले उनलाइ बाह्य गतिविधि तथा राजनीतिबाट टाढै बस्न बाध्य बनायो। त्यसपछि मेकियावेली गाउँले जीवन जिउन थाले। त्यही समयमा उनले दुनियाँकै प्रसिद्ध किताब " द प्रीन्स " लेखे। यहि किताबका कारण उनी दुनियाँभर चिनिन सफल पनि भए।
🔘  द प्रीन्स (सामान्य विवेचना):-
                          मेकियावेलिको किताब " द प्रीन्स " इटालियन भाषामा लेखिएको राजनीतिक शासन पद्धति सम्बन्धी सरल एवम् उत्कृष्ट निबन्ध थियो। यो किताब सन १५२७ मा मेकियावेलिको निधन भएको पाँच वर्षपछी सन १५३२ मा मात्र प्रकाशित भयो। यो किताब देख्दा सानो भएपनि यसमा राजनीतिक शासन पद्धति सम्बन्धी सरल साथै व्यवहारीक कथ्यहरु समावेश गरीएको हुनाले यसलाई दुनियाँको सिमा पार गर्न ज्यादा समय लागेन। मेकियावेलिलाइ कतिपय मान्छेहरु निरङ्कुशतालाइ मलजल गरेको आरोप लगाउछन। आलोचकहरु भन्ने गर्छनकि पछिल्लो शताब्दीमा विश्वका ठुला-ठुला शासकहरु मेकियावेलीले लेखेको सिद्धान्त अपनाएर देशको सर्वोच्च पदमा पुगे। जसको उदाहरणको रुपमा बेलायती प्रधानमन्त्री विस्टन चर्चिल, अमेरिकी राष्ट्रपति फ्र्याङ्लिन रुजवेल्ट र फ्रान्सका शासक नेपोलियन लगायत कैयौं चर्चित राजनेताको नाम लिन्छ्न। त्यति मात्र नभएर कतिपयले हिटलर र मुसोलिनी निरङ्कुश हुनुको दोष पनि यहि किताबलाइ दिन्छ्न तर यी र यस्ता आरोप प्रमाणीत गर्ने ठोस आधार भने भेटिएको छैन। 
यी १५ औं शताब्दिका इटालियन दार्शनिक निकोलो मेकियावेलीले आफ्नो किताब  द प्रीन्समा शासकिय सिद्धान्तको बारेमा चर्चा गरेका केही महत्त्वपूर्ण पक्षलाई हामीले समेट्ने कोसिस गरेका छौँ।

🔴 क्रुरता:-
                   द प्रीन्स राजा यनकी शासकहरुको गुण तथा अवगुणको दस्तावेज हो। शासकको गुणको चर्चा गर्नुको अलावा मेकियावेलिले राजालाइ उसको व्यक्तित्वप्रती सचेत गराएको देखिन्छ। मेकियावेलिका अनुसार, शासकका आसेपासेहरुलाई यस्तो नलागोसकी हामीले यसलाई अवहेलना गर्न सक्छौ र अनादार गर्न सक्छौ। उनका अनुसार हरेक शासकले सार्वजनिक जीवन जिउने गर्छन र यसका कैयौं मर्यादा र बाध्यता हुन्छन। शासकमा असल गुण भएको राम्रो तर उसलाइ जिन्दगीले यस्तो कुरा सिकाउदैन किनकी अधिकांश शासकहरुको प्रतिस्पर्धा सधै कपट,लोभी तथा स्वार्थी मान्छेहरुसङ्ग हुने गर्छ र यस्ता मान्छेहरुको सामना गर्नको लागी र लामो समयसम्म शासक भएर रहनको लागि क्रुर हुनुपर्छ। यसको मतलब यो होइनकी शासक सधै क्रूर हुनुपर्छ, तर आवस्यक परेको खण्डमा क्रूरतालाइ आत्मसात गर्न सक्नुपर्छ। मेकियावेलीले भनेका छनकि  यदि राजाले सामान्य मानविय भावनाको आवेगमा आएर साधारण मान्छेको व्यवहार गरेको खण्डमा उसको सत्ता छिनिन सक्छ। त्यसैले जहिलेपनि शासकले आफ्नो शक्तिको प्रयोग गरेर सत्तामा नियन्त्रण राखीरहनुपर्छ

🔴 अनउत्तरदायी :-
                      द प्रीन्सको १६ औं अध्यायमा मेकियावेलीले लेखेका छन कि  राजा यनकी शासकले आफ्ना जन्ताप्रती ज्यादा दयावान र उत्तरदायी हुनु त्यति राम्रो कुरा होइन किनकी यसबाट जन्तामा आफ्नो शासकप्रतीको आसा अझ बढेर आउँछ । मेकियावेलिका अनुसार  जन्ताको बिचमा असल देखिनको लागि शासकले केही राम्रा योजनाको सुरुवात जरुर गर्नुपर्छ तर त्यसबाट राज्यको ढुकुटी पनि बिस्तारै-विस्तारै रित्तिदै जान्छ। त्यसैले ज्यादा उत्तरदायी हुनु राज्यको आर्थिक पक्षको लागि पनि राम्रो होइन। किनकी यदि राज्यको संचित धन खतम भएको खण्डमा शासकले जन्ताका सपना पूरा गर्नको लागी जन्ताबाटै उठाउने करमा वृद्वी गर्नुपर्छ। जसले गर्दा फेरि जन्ताले शासकलाई मन पराउन छोड्छन भने राज्यको संचित धन खर्च हुने खालका लोकप्रिय योजनाहरु बन्द गरेको खण्डमा पनि जन्ताले शासकको आलोचना गर्न थाल्छ्न। जहिले पनि शासकको असल व्यवहार कालान्तरमा जन्ताको नजरमा घृणाको कारण बन्न पुग्छ। 
🔴भ्रम र डर :-
                    मेकियावेली मान्थेकी शासक कहिल्यै पनि जन्ताको शत्रु बन्नु हुँदैन र जन्ताको नजरमा शासकले शत्रुतापुर्ण व्यवहार पनि देखाउनु हुँदैन तर जन्तासङ्ग मित्रता गर्नको लागि राज्यमा खुशियालीनै फैलाउनुपर्छ भन्ने छैन। तथापि जन्तामाझ जहिले पनि हाम्रो शासक असल छ भन्ने भ्रम चाहिँ फैइलाइरहनुपर्छ।  साथै शासकले आवस्यक परेको खण्डमा राजनितिक हतियारको रुपमा प्रयोग गर्न सक्ने किसिमले मात्र आफ्ना जन्तासङ्ग मित्रताको भावना प्रकट गर्नुपर्छ। जसले राज्यमा स्थिरता ल्याँउछ र शासनकाल पनि लम्बिन्छ।
🔹राजालाइ जन्ताले प्रेम गर्नुपर्छ वा उसको डरमा जिउनुपर्छ?
                  यसको जवाफमा मेकियावेलिले लेखेका छन कि एक साधारण शासक सैद्धान्तिक रुपमा चाहान्छकी, मान्छेले उसलाइ प्रेम पनि गरून् र उसको डर पनि मानुन तर प्रेम र डर दुवैको संयोजन एकदम गार्हो कार्य हो। यी सबै कुरा मानवीय स्वभावमा भर पर्छन त्यसैले प्रेम र डर दुवैको संयोजन गर्न नसकेको खण्डमा बरु प्रेम गर्नुको अलावा म सङ्ग डराउन भन्ने चाहाना  शासकमा हुने गर्छ।

🔴 इज्जत:-
                      मेकियावेलिले भनेका छन कि राज्यको सुरक्षा गर्ने समयमा शासकले आफ्नो इज्जतको चिन्ता गर्नु हुँदैन। इज्जतको चक्करमा कैयौं राजा दयालु बन्छन जसको कारण राज्यमा अशान्ती फैलिन सक्छ र परीणाम सत्तानै गुम्न सक्छ तर यसको मतलब एक शासकले जन्तामा आफुप्रती घृणानै पैदा हुने गरि डर सृजना गर्नुपर्छ भने होइन। 

🔴धर्म :-
                    मेकियावेलिका अनुसार शासकले आफू सधै धार्मिक देखिने कोसिस गरीरहनुपर्छ तर धर्मको लागि मात्र धार्मिक देखिनु शासकको लागि हानिकारक हुन सक्छ। शासकले धर्मको पालन गरोस या नगरोस तर आफू धार्मिक रहेको कुरा देखाइरहनु चाहिँ जरुरी हुन्छ। किनकी जन्ताहरु तुलनात्मक रुपमा धर्मको अनुसरण गर्ने शासकलाइ ज्यादा मन पराउछन। त्यसैले जन्ताको मन जित्नको लागि शासकले जन्ता माझमा धार्मिक आचरण देखाइरहनुपर्छ। तर मेकियावेलीले यो पनि भनेका छन कि सच्चा चरीत्रलाई सामान्य धार्मिक गुणहरुले मात्र परीभाषित गर्न सक्दैनन्। शासकले धार्मिकताको अलावा राज कौशलमा  रणनिती, शक्ति, बहादुरी र आवश्यक परेको खण्डमा कठोरतासाथ निर्णय लिन-दिन सक्नुपर्छ। 
मेकियावेलिले शासकको चर्चा गर्ने क्रममा "आपराधिक सद्गुण (Criminal virtue)" भन्ने शब्दको अधिक चर्चा गरेको देखिन्छ। आपराधिक सद्गुण अरु केही नभएर राज्यलाइ सु-सज्जित तरीकाले संचालन गर्नको लागि आवस्यक सन्तुलित कार्य हो। यसको प्रयोग गर्नको लागी राजाले आफ्ना कडा सर्त अघि सार्ने गर्छन।

 🔘 युरोपका चाणक्य- "मेकियावेली":-
                          मेकियावेलिको शासकीय सिद्वान्त पढिसकेपछी कैयौं विद्वानहरुले मेकियावेलिलाइ युरोपका चाणक्य पनि भन्ने गरेको पाइन्छ तथापी यो एउटा छुट्टै कुरा हो तर युरोपमा मेकियावेलिको शासकीय राजनीतिक सिद्धान्त अतिनै लोकप्रिय भयो। उनको सिद्धान्त राजनीतिक शास्त्रमा "Machiavellianism" नाममा प्रसिद्ध भयो। यसको अर्थ यो हुन्छकी "एक यस्तो व्यक्ती जसले नैतिकता,इज्जतको अलावा उपयोगीता वा औचित्यलाई प्राथमिकता दिने गर्छ।" 
                        वास्तवमा मेकियावेलिको सिद्वान्त राजतन्त्रको व्यवस्थापनका लागि अती उपयोगी देखिन्छ तर प्रजातन्त्रमा यो विनाशकारी सिद्धान्त मानिन्छ। तथापी आज पनि विश्वमा प्रजातन्त्रको हिमायती बनेका कैयौं ठुला राष्ट्रका शासकले यो सिद्धान्तलाई आत्मसात गरेर पटक-पटक सत्ता प्राप्त गर्न सफल भएको वर्तमान हाम्रै सामु छ।

Comments