मानव समाजमा जातिय विभेद र रुकुम घटना"

 पृथ्वीमा मानव कुनै जात र धर्म लिएर आएको थिएन। जस्तो भर्खर जन्मिएको बच्चालाई जात,धर्म,वर्ण,लिङ्ग जस्ता कुनै पनि कुरा थाहा हुँदैन त्यस्तै आदिम मानवहरु पनि यस्ता कुराहरुबाट अन्जान थिए। मान्छे नितान्त एक प्राणी हो न कि कुनै जात र धर्म। मान्छेले आफ्नो आदिम कालदेखि आजसम्म आइ पुग्दा हजारौं वर्षको समयावधि पार गरेको छ। यो विचमा पृथ्वीमा भएका हरेक जिवलाइ नियन्त्रण गर्दै आफ्नो अस्तित्व कायम राख्न मात्र होइन आफुलाइ दिन-प्रतिदिन दुर्त गतिले वृद्धि,विकास गर्न र फैलाउन सफल भएको छ। तर अहिलेको अवस्थामा आएर बिडम्बना भन्नुपर्छ, मानव जातिले आफ्नो अस्तित्वलाई यति सफल र सर्वश्रेष्ठ बनाउनुको बाबजुद पनि "हेपाह प्रवृती" जस्तो हरेक जिवमा हुने एक साझा कुचारणलाइ हटाउन सकेन सधै आत्मसाथ गरिरह्यो।

                     ठुलोले सानोलाइ,बलियोले निर्धोलाइ र धनिले गरिबलाइ हेप्ने जैविक प्रवृतिको विकासक्रम सङ्गसङ्गै गोरोले कालोलाइ र कुनै समयको राज्य सत्ताले उपमा दिएको उपल्लो जातले तल्लो जातलाइ हेप्ने, विभेद गर्ने साथै आफ्नो स्वार्थको लागि उपयोग गर्ने प्रथाले जरा गाड्यो। जुन अहिले मानव समाजमै कलङ्कका रुपमा परिचित छ र पनि अधिक पितृसत्तात्मक सोँच, हेपाह प्रवृती र यस्तो निच-घिनौलो कार्यलाइ पनि ईश्वरीय वरदान मानेर पुजा गर्ने जनावरहरुका कारण आज मान्छेबाट-मान्छेले हेपिनुपरेकोछ, मारिनुपरेको छ,अनेक हिंसा सहनुपरेको छ साथै मानव अधिकारबाट समेत बन्चित हुनुपरेकोछ।

✡️रुकुम हत्या काण्ड
रुकुम हत्याकाण्ड हाम्रो देशमा जातिय विभेद जोडिएको पछिल्लो हृदयविदारक घटना हो। यस घटनाले फेरि मानवले मानवमाथी देखाएको राक्षसी प्रवृतिलाइ सतहमा ल्याएको छ। कथित उपल्लो जात भनिएका मान्छेहरुले तल्लो जात भनिएकाहरुलाइ युगौंदेखी शोषण गरेको भन्ने दरिलो प्रमाण हो यो,जुन हाम्रो देशमा एक-दुई होइन विगत सात सय वर्षदेखी मानवीयता नभएका दानवी प्रवृतिका मान्छेहरुबाट मान्छेमाथिनै यस्ता हिंसा गरिदै आएको छ। दुख लाग्छ, अझै पनि तल्लो जात भनेर शोषण गर्न पल्किएका म जस्ता दरिद्र सोँच भएका कथित उपल्लो जातकाहरुले मानवतालाई थोरै पनि महसुस नगरी सजिलै भन्दिन्छौ कि जातिय भेदभाव कहाँ छ? यिनिहरुलाइ अधिकार दिएकै छौँत,फेरि रोइलो किन? ताकी हाम्रो रगतको कण-कणमा जातिय भेदभाव देखिन्छ। अनि हामिले जुन अधिकार आजसम्म दमनमा जिएका दलित सामुदायलाइ दिएको सोँच्छौनी,यो बुझौँकि त्यो हामिले हाम्रो भाग काटेर दिएका होइनौं।त्यो त उनिहरुको आफ्नै अधिकार हो।जुन शताब्दीऔं देखि गुमाएका थिए,हामिलाइ सुम्पिएका थिए।
           रुकुम हत्याकाण्डको बारेमा हामीले सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यमबाट बृहत् रुपमै थाहा पाइसकेका छौँ। छोटकरिमा बुझ्दा जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका १९ वर्षीय नवराज विक भलिवलका राम्रा खेलाडी थिए। उनी भलिवल खेल्नका लागि विभिन्न ठाउँमा हुने भलिबल प्रतियोगितामा सहभागी हुन आफ्नो समुहका साथ गइरहन्थे। त्यसै क्रममा तिन वर्ष अघिनै चौरजहारी नगरपालिका–८ की सुष्मा मल्लसँग उनको चिनजान भयो। उक्त चिनजान विस्तारै प्रेम सम्बन्धमा परिणत भयो। विशेष गरेर एक वर्षदेखि सुष्मा र नवराजको प्रेम झाङ्गिएको उनका साथिहरुबाट थाहा पाउन सकिन्छ। नवराज र सुष्मबीच प्रेम सुरु भएको हप्ता दिनपछि सुष्मा नवराजको घरमा पनि पुगेकी थिइन। उनी नवराजको घरमा पुगेर एक हप्तासम्म बसेकि थिइन त्यो क्रममा सुष्मा माथिल्लो जातको र आफुहरु तल्लो जातको भएकाले विवाह हुन नसक्ने भन्दै नवराजको घरपरिवारले सुष्मालाइ सम्झाइ-बुझाइ गरेका थिए।घर-परिवारले जातपातको बारेमा नवराजलाइ पनि नसम्झाएका होइन तर जवानिको बेलामा बा-आमाका कुरा कस्ले पो सुन्छर, बा-आमाका अमृतपुर्ण वाणी पनि त्यो समयमा विषै लाग्छन। त्यस्तै बा-आमाको सम्झाइ बुझाइले पनि उनिहरुको प्रेमलाइ छुन सकेन। सुष्मा र नवराजको भेट हुनु सामान्यजस्तै भइसकेको थियो।गत पुसमा स्थानीय थाप्लेमा लाग्ने मेलामा पनि नवराज र सुष्मा सङ्गै भेटिएका  थिए। प्रेमको गतिसँगै बिस्तारै उनिहरुको प्रेममा जातिय विभेदले डेरा जमाउन थाल्यो आखिर,प्रेमको अगाडि जातपातको के जोर चल्थ्यो उनिहरु दुवै समाजको कुबन्धनलाइ तोडेर विहे गर्ने सहमतिमा पुगे। त्यसै अनुरुप नवराज र उनको साथी केही महिना अगाडि सुष्माको घरमा सुष्मालाइ लिन भनेर गएका थिए तर सुष्माका घर- परिवारले उनिहरुलाइ तल्लो जातको भनेर समाती कुटपिट गरि प्रहरी चौकिमा बुझाइदिए। प्रहरि चौकिले उनिहरुलाइ उमेर पुगेपछी बिहे गर्ने सहमतिका साथ छोड्यो। यो बिचमा नवराजलाइ आफ्नो छोरिलाइ छोड्न भनेर सुष्माका आमा-बुबाले धेरै पटक दवाव दिए। किनकी उनिहरु आफ्नी छोरिको अन्तर्जातिय विवाह गर्दिन राजी थिएन्न।
                       पछिल्लो समय फेसबुक म्यासेजमा सुष्माले आफ्नो पेटमा बच्चा भएकोले छिटो बिहे गर्न नवराजलाइ दवाव दिन थालिन। नवराज भने चारैतिरको दवावले मानसिक तनावमा परेका थिए। उनलाइ थाहा थियोकी सुष्मालाइ लिन गएमा आफुमाथी कुटपिट हुन सक्छ भन्ने कुरा, त्यही माथि नवराजको आमा-बुबाले पनि त्यो केटिसँग विहेको सपना नदेख्न उनलाई चेतावनी दिएका थिए। केटि उपल्लो जातको हुनाले भोलि समस्या पर्न सक्छ भन्ने कुरा सुझाएका थिए। तर नवराजलाइ कसैको कुराले छुन सकेन बरु सुष्माकै सल्लाह अनुसार उनी बिहे गर्नको लागि तयार भए। उनलाइ साथी लिएर आउने सल्लाह पनि सुष्मालेनै दिएकी थिइन। उनिहरु दुवैले भागेर बिहे गर्ने अन्तिम योजना बनाए। त्यही अनुसार मिति २०७७/२/१० गते शनिवारका दिन घरमा काफल खान जान्छु भन्ने बाहाना बनाएर उनी आफ्ना १८ जना साथिहरुका साथ सुष्मालाई लिन चौरजहारी,रुकुमतिर लागे। उनिहरुको टोलि बेलुकीतिर सुष्माको घर नजिकै पुग्यो। तर उनिहरुलाइ सुष्माले नभएर सुष्माकी आमाले देखिन। देख्नेबितिकै नवराजलाइ उनले "तँ डुमको छोरो पहिलेको कुटाइले नपुगेर फेरि मर्न आइस" भनेर गाली गर्न सुरु गरिन। त्यसपछी सुष्माकि आमाको गाली सुन्न नसकी केटाहरु उक्त घरदेखी केहि टाढा गएर के उभिएका थिए,त्यतिकैमा गाँउका लगभग सबै मान्छेले हातमा आफुसँग भएको केही न केही हतियार् लिएर उर्लिएर आए। उनिहरुले नवराज र उनको साथिहरुलाइ लखेट्न थाले। केही समय सडकमा दौडाए। त्यतिबेलासम्म गाँउलेले चारैतिरबाट घेरिसकेका थिए। त्यसपछी नवराज र उनका साथिहरुको टोलि सडक छोडेर तलतिर रहेको नदितिर भागे। पछि- पछि आएका गाँउलेहरुले उनिहरुलाइ समातेर कुटपिट गरे। गाँउलेले वडाअध्यक्षलाई पनि खबर गरि लिएर आएका थिए भने वडा अध्यक्षले प्रहरिलाइ पनि खबर गरिसकेका थिए।  कुटाइ खाने क्रममा नवराज र नवराजका केही साथी पौडीएर भाग्ने हेतुले भेरी नदिमा हाम फाले तर कुटाइका कारण शरीर शिथिल भइसकेको हुनाले उनिहरु पौडीन सकेन्न जसले गर्दा भेरि नदिमै डुबेर उनिहरुको निधन भयो तर समातिका १२ जनालाइ गाउँलेले प्रहरिको जिम्मा लगाए।
                          तर मलाइ के लाग्छ भने नवराज र उसका १८जना साथिहरु सबै (१८-२२)वर्ष भित्रका जवान थिए। त्यो उमेरमा वुद्वी कम र जोस ज्यादा हुन्छ त्यो हामी सबैलाइ थाहा भएकै कुरा हो। सुष्मालाइ बिहे गर्नको लागि लिन भनेर सुष्माको गाउँमा जाँदा नवराजले पहिले पनि पटक-पटक कुटाइनै खाएका थिए। हुन त छोरिको बिहे गर्नको लागि उसको बा-आमाले केटाको पढाइ,जागिर,खानदान लगायत धेरै कुरा हेर्ने गर्छन तर नवराज कथित तल्लो जात र सुष्मा कथित उपल्लो जातकी भएकैले बिचमा पहिल्यै जातको कुरा आयो। त्यही जातका कारण सुष्मालाइ उसका बा-आमाले नवराजलाइ दिन मानेन्न। यसका बाबजुद पनि नवराज र सुष्माको प्रेम भने टुक्रीएको थिएन। सुष्माको पेटमा नवराजको बच्चा त छ- छैन तर उनले त्यही कुरा गरेर नवराजलाइ आफुलाइ लिन बोलाएकी थिइन भन्ने कुरा उनका फेसबुक म्यासेजबाटै थाहा पाउन सकिन्छ। उनले बोलाए अनुसारनै जोसिला नवराज आफ्ना अल्लारे साथीहरु लिएर लकडाउनकै समयमा जेठ १० गते शनिवार बेलुकी सुष्माको गाँउमा आए। उनिहरु जोस भएका तर होस नहुने उमेरका केटाहरु हुन। पक्कै उनिहरु गाउँलेकै बिचबाट उठाएर भएपनि सुष्मालाइ लिन भनेर आएका थिए र चुपचाप होइन रमाइलो गर्दै आएका थिए।१९जना एउटा सानो समूह होइन र हामिहरु जे पनि गर्न सक्छौ भन्ने उनिहरुमा दम्भ थियो। केटिकी आमाले उनिहरुलाइ देखेर गाली गर्दा पक्कै पनि उनिहरु चुप बसेन्न केही न केही पक्कै भने किनकी त्यो उमेर कसैले केही भन्दा सहने खालको उमेरै होइन। नपत्याए सबैले त्यो उमेरको आ-आफ्नो अवस्था सम्झिएर हेरौं,हामि प्राय तिनीहरुजस्तै थियौं।
त्यसपछि गाँउमा हो-हल्ला मच्चियो गाउँमा एकले अर्कोलाइ खवर गर्न थाले, र  सुरुमा हातमा जे- हतियार भेटिन्छ त्यही लिएर केटाहरुलाइ आक्रमण गर्न गए। अल्लारे केटाहरु सयौंको संख्यामा गाउँले देख्दा अतालिए,भाग्न खोजे चारैतिर गाउँले देखेपछी उनिहरु तल भेरी नदितिर हाम फाले तर गाँउलले उनिहरुलाइ समातेर धमाधम कुट्न थाले,त्यो बेलामा मानवता हरायो। किनकी रिसमा मान्छे राक्षसनै हुन्छ। नदिमा हाम फालेकालाइ पनि तानेर कुटे, किनकी  सामान्य पौडिन जानेको मान्छे भेरी नदिमामा डुब्दैन। जब कुटाइबाट एकदुइ जनाको ज्यान गयो त्यसपछी बल्ल गाउँलेको चेत खुल्यो। वडा-अध्यक्षले योजना बनाए अनि मरेका र बेहोस भएका सात जनालाइ नदिमा फ्याँकियो भने जिउँदा १२ जनालाइ प्रहरीलाई बुझाइयो। यसो गर्दा गाँउलेले समातेर प्रहरिलाइ बुझाउन खोजेका रहेछ्न तर केटाहरु नदिमा हाम फाल्नाले ज्यान गयो भन्ने दुनियाँलाई भान पर्न सक्थ्यो। मृत्युमा गाँउलेको दोष नदेखाउनका लागि वडा-अध्यक्षले त्यो योजना रचेका थिए। यदि प्रहरी घटना स्थलमा पुगेको भएपनि सात जनालाइ नदिमा फ्याँकेपछी पुगेका थिए। त्यसैले त्यहाँ सरासर हत्या भएको हो।यदि प्रहरी पहिल्यै पुगेका हुन्थे र केटाहरुले साँच्चिकै नदिमा हाम फालेका हुन्थे भने प्रहरिलाइ बँचाउन कर लाग्थ्यो,यदि प्रहरीकै अगाडि केटाहरुले नदिमा हाम फालेका हुन भने किन प्रहरिले उनिहरुलाइ उद्वार गर्न सकेन? कतै प्रहरी त मिलेका छैन्न?
              त्यसैले यो घटना मानवले मानवमाथी गरेको नरसंहार हो अपराधिले सजाय पाउनैपर्छ। केटाहरुको हत्या फौजदारी मुद्दा भएपनि सुरुवात जातिय विभेदबाट भएको थियो। त्यसैले धेरैले यस्लाइ जातिय विभेदयुक्त मुद्वा बनाउनु पनि स्वभाविकनै हो। तर के बुझौं भने जातकै कारण नवराज र सुष्माको विहे भएको थिएन यो सत्य हो तर हत्या जातको कारण भएको होइन। किनकी हत्या गर्नेहरु पनि जोशमा होस हराएकाहरुनै थिए। त्यो दिन उक्त गाँउमा नवराज विकको पक्षमा जो गएको भएनी उसको हालत त्यही हुन्थ्यो।
                        गाउँलेमा जातपातको भेदभाव थिएन, लकडाउनको समय यी त सबै निहु मात्र हुन। गाउँलेले आफ्ना छोराछोरिको बिहे दलितसँग मागेरै गरेका त पक्कै थिएन्न भागी बिहेनै भएको थियोहोला र तिनिहरुबिच छुवाछूत अझै पनि छ अहिले हत्यारालाइ जोगाउनलाइ भेदभाव नभएको नाटक मात्र गर्दैछन। त्यहिमाथी मध्यपश्चिम, सुदुरपश्चिम र प्रदेश न.२ नेपालमा सबैभन्दा धेरै जातिय भेदभाव हुने ठाउँहरु हुन। देशकै शिक्षित र विकसित मानिएको राजधानी शहर काठमाडौंमा त बारम्बार  छुवाछूतका घटना सार्वजनिक भइरहेको अवस्थामा मध्यपश्चिमको एक ग्रामिण इलाकामा जातिय भेदभाव छैन भन्नू आफैमा हास्यास्पद कुरा हो।

✡️विश्वमा जातिय विभेद
जातिय विभेद यनकी जातपातको आधारमा गरिने विभेदले नेपाल,भारत लगायत दक्षिण एसियामामात्र नभएर पूरा विश्वमानै जरा गाडेको पाइन्छ। हिन्दु धर्म र खाली दक्षिण एसियामा मात्र जातिय विभेद छ भन्नू एउटा भ्रम मात्रै हो। विशेष गरेर मानव सभ्यताको विकासहुँदै जाने क्रममा जातिय व्यवस्थाको सुरुवात सर्वप्रथम अहिलेको युरोपियन देश पर्चुगलबाट भएको विभिन्न तथ्यहरुमा भेटिन्छ। त्यतिबेला सुरुभएको रङ्गभेदिय जातिय प्रथा मानव समाज खण्डिकरणको मुख्य कारण मान्न सकिन्छ। पछि गएर विश्वका हरेक समाजमा विकसित भएको विभेदपुर्ण जातिय प्रथालाई पनि त्यसैको उपज मान्न सकिन्छ।
                    विश्वमा भइरहेका विभेद हेर्दा जापानका बाराकुु, नाइजेरियाका ओसोई र ओरु, सेनेगलका ग्रिटोस, अफ्रिकाका निग्रो, नेपाल, भारत, बंगलादेश, पाकिस्तानजस्ता देशहरूका दलित जनजाति माथी बढी विभेद भएको देखिन्छ। भने चीन,जापान,सेनेगल, मौरिटानिया, माली, गुयना, मदागास्कर, ब्राजिल,अमेरिका, दक्षिण अफ्रिका, नाइजेरिया, सुडान, क्यारेबियन राष्ट्रहरूसँगै दक्षिण एसियाका नेपाल, भारत,पाकिस्तान,बङ्ग्लादेश आदि देशहरु विश्वमै सबैभन्दा धेरै जातिय विभेद हुने देशहरु हुन। इतिहासका विभिन्न कालखण्डमा "फुटाउ र शासन गर"को नितिलाइ अवलम्बन गर्दै राक्षसी विचार भएका मानवधारिहरुले जातीय एकतामा विखण्डन गरि मानवमाथीनै चरम शोषण गरे। आजको अवस्थामा विभेदको सिकार भएका झन्डै २५ करोड भन्दा धेरै मान्छेहरु त्यही शोषणका उपज हुन। १२औँ शताब्दीको आसपासमा भारतमा मुस्लिम आक्रमण भई त्यहाँको राज्यसत्ता मुस्लिम बादशाहको हातमा गएपछि कैयौँ हिन्दूहरू इन्डोनेसियाको जावा, सुमात्रा र वाली, दक्षिण अमेरिकाको गायना, सुरिनाम, ट्रिनिडाड, प्रशान्त महासागरको फिजी टापुलगायत नेपालमा समेत १०औँ हजारको संख्यामा शरणार्थीका रूपमा पसेका थिए भने त्यसैगरी तिब्बतमा रातो टोपी (ङिङ–मा–पा) र अन्य साक्यपा, कग्यु–पा, गे–लुग–पाहरूका बीचका धार्मिक द्वन्द्व भएका बेला पनि हजारौँको संख्यामा वोनवादी तथा बुद्धमार्गीहरू शरणार्थीकै रूपमा नेपाल पसेको ईतिहास भेटिन्छ।
                         मध्यकालिन समयको जातिय विभेद हेर्दा युरोपेली देशहरुको अवस्था  पनि झन्डै-झन्डै दक्षिण एसियाको जस्तै थियो। दुनियाँभरनै त्यतिवेलाका मानिसहरू आफ्नो वर्ग, झुन्ड तथा समूहलाई मात्र सबैभन्दा ठूलो ठान्दथे र बाह्य मानिसहरुसँगको घुलमिल उनीहरूलाई मन पर्दैनथ्यो। विश्वमा घटेका ठूला घटनाहरू पुनर्जागरण काल, धर्मसुधार आन्दोलन, अमेरिकी स्वतन्त्रता संग्राम, फ्रान्सेली राज्यक्रान्ति, औद्योगिक क्रान्ति, जर्मनीको एकीकरण, रुसी क्रान्ति, उपनिवेशवाद साथै प्रथम र द्वितीय विश्वयुद्धहरू आदिले एकआपसमा मानिसहरूलाई सम्पर्कमा जान बाध्य तुल्याएको  देखिन्छ। त्यसपछी मात्र कुन वर्ग,कुन जात र कुन समूहका मानिसहरू कहाँ र कुन ठाउँमा आफ्नो बाहुल्यता कायम गरी बसेका छन् भन्ने कुराको अध्ययन हुन थालेको हो। अफ्रिकाका निग्रोहरू, मंगोलियाका मंगोलहरू, ककेसियाका आर्यहरू लगायत द्रविड, आग्नेय, पश्चिमी वृत्तमुण्ड आदिको खोजी र पहिचान सम्भव भएको हो।सत्य कुरा यहि होकि मानव उत्पत्तिमा एकरूपता भएपनि विकासमा विविधता भएका कारण मानिसहरू विभिन्न स्वरूप र जातमा विभाजन भएका हुन।
                          जातीवाद र जातीय द्वन्द्व प्रथम र द्वितीय विश्वयुद्धपछि विश्वमा बढ्दै गएको जटिल विषय हो। त्यो भन्दा आगाडि शासक र शासित तथा शोषक र शोसितहरूबीच विभेद रहेको भएपनि त्यसको पहिचानसहित बाहिर आउन सकेको थिएन तर सन् १९४५ पछि अहिलेसम्म विश्वमा भएका जति पनि हिंसा र युद्धहरू छन् तीमध्ये आधाभन्दा बढी जातीयतामा आधारित भएको भेटिन्छ। यही जातीयताका कारण मात्र ७५ वर्षको अन्तरालमा विश्वमा झन्डै १ करोड १० लाख भन्दा धेरै मानिसहरुको ज्यान गइसकेको छ भने २० लाखभन्दा बढी मानिसहरूले शरणार्थी जीवन बिताउन बाध्य भएका छन्।
यता हाम्रो हिन्दू समाजमा भने ऋगवेदको एक अध्याय मनु स्मृतिमा भएको वर्ण व्यवस्थाका कारण जातिको उत्पत्ति भएको मानिन्छ तर अन्य समाजमा भने जाति र जात हुँदैन। नेपालमा जाति अन्तर्गतका जात भन्दा बाहेकका अन्य वर्गलाई चिनाउन जनजाति, आदिवासी जस्ता शब्दहरू प्रयोग गर्ने गरिएको छ। त्यो उनिहरुको पहिचान मात्र हो त्यस्लाइ जातीयता भन्न मिल्दैन। विभिन्न समूह,समुदाय आदिको विशेष पहिचानका लागि नाम आवश्यक पर्ने भएकोले त्यसरी उनिहरुलाइ त्यो पहिचान दिइएको हो । वास्तवमा उक्त पहिचानमा पनि भिन्नता ठानेर भेदभावको अवस्था सृजना गर्नु भनेको मानवीयता माथिको बेइमानी हो।

✡️नेपालमा जातिय विभेेेदको सुरुवात र विभेद हटाउन भएका प्रयासहरु

नेपाल एक बहुजातिय,बहुभाषिक,बहुसांस्कृतिक तथा बहुधार्मिक देश भएपनि यहाँ ८० प्रतिशत भन्दा धेरै हिन्दु धर्मावलम्बी भएको हुनाले यहाँका हरेक पक्षमा हिन्दु संस्कृतिको तथा परम्पराको प्रभाव स्वभाविकै पर्न जान्छ। त्यसैले यहाँ भएको जातिय विभेद पनि हिन्दु धर्मको मुख्य धर्मग्रन्थ "वेद"मा समावेश गरिएको मनुको "वर्ण" विभाजन सम्बन्धी नितिअनुसार प्रेरित छ। त्यतीबेलाको समयमा मनुले समाजको  विकासको लागी भनेर कामको आधारमा वर्णानुक्रम गरेपनि विभिन्न कालखण्डमा घटिया सोँच भएका शासकहरुले श्रमिक र व्यापारिको वर्गको शोषण गर्नका लागी उक्त वर्णानुक्रमको दुरुपयोग गरि छुवाछूतको जग बसाले र पछि आउने शासकले पनि त्यसलाइ मलजल गर्दै गए। जसले गर्दा विभेदको जरो झन-झन बलियो हुँदै गयो। नेपालमा हुने कुनै पनि किसिमका जातिय विभेदको सुरुवाती जरोको बारेमा बुझ्नलाइ हामिहरु हिन्दु धर्मको सुरुवाततिर जानैपर्छ।
                     धार्मिक इतिहासका विभिन्न अभिलेख,पुस्तक तथा ग्रन्थहरुका अनुसार हिन्दु धर्मको उत्पति ५५ सय वर्ष अघि भारतमा भएको मानिन्छ। कतिपय विद्वानहरुका अनुसार मेसोपोटामीया (बेबिलोन) धर्म यसियामा आइपुग्दा यहाँको भौगलिक तथा सामाजिक कारणले स्थानीयकरण भई एक हाँगाको रुपमा हिन्दु धर्मको विकास भारतमा भएको हो भन्दछन,तर यो तथ्य आधारहिन छ।
अत्यधिक तथ्यहरु हेर्दा सिन्दु नदीको आसपास मोहनजोदारो र हरप्पा सभ्यताको निर्माण गर्ने आश्रित र द्रबिड मुलका दुई सामुदायिक जातिहरुलाइ इसापूर्व पन्ध्रौँ सताब्दीतिर युरोपको सित प्रदेश साथै मध्य यसियाको ककेसस क्षेत्रबाट इरान र अफगानिस्थान हुदै आएका आर्य पशुपालकहरुले परास्त गरी दास बनाएर राखे र सिन्दु नदिकै किनारमा आफ्नो सभ्यताको विकास गर्न थाले। फारसी भाषामा स अक्षर नहुने र सलाई ह भनेर उच्चारण गरिने भएकोले सिन्धुलाइ हिन्दु भनिन्थ्यो। त्यसैले सिन्धु नदिको किनारमा बस्नेलाइ पनि हिन्दु भन्न थालियो यसरी उक्त सभ्यताबाट हिन्दु धर्मको निर्माण भएको मानिन्छ।
                  हिन्दु धर्मको विकास भएको २००० वर्षपछी यनकी आजभन्दा लगभग ३५०० वर्ष पहिले वेदव्यासले अलिखित श्लोक र श्रुतीहरुलाई लिपीबद्द गरि ऋग्वेद लेखे । यस ग्रन्थको १० परिच्छेदमा उनले मनुले लेखे अनुसार वेदमा ४ वर्ण व्यवस्थाको समावेश गरे। जसमा सृष्टिकर्ता ब्रह्मको टाउकोबाट ब्राह्मण,छाती यनकी काँधबाट क्षत्री,घुँडाबाट वैश्य र पाइतलाबाट शुद्रको उत्पती भएको उल्लेख छ। त्यसमा वर्णानुक्रम अनुसार कार्य विभाजन पनि गरिएको छ। जसमा ब्राह्मणको कार्य ज्ञान आर्जन गर्ने, मन्त्रो उच्चारण गर्ने, पाठ पुजा गर्ने र दीक्षित गर्ने, क्षेत्रीले शासन प्रसासन संचालन गरि शान्ती सुरक्षा कायम गर्ने, वैश्यले व्यापार , खेतीपाती, पशुपालन गर्ने  र शुद्रले शिल्पकारिता, प्राविधिक कार्य गर्ने भनेर उल्लेख गरिएको छ। उक्त परिच्छेदमा अर्को महत्वपुर्ण कुरा के उल्लेख गरिएको छ भने "कामका आधारमा जात परिवर्तन हुन सक्नेछ" भनेर नीति बनाइएको छ जसअनुसार कामका आधारमा शुद्र -ब्राह्मण र ब्राह्मण - शुद्र पनि बन्न सक्ने आधार देखाइएकोछ।
              नेपालमा भने इस्वि संवत १७०-२०० को समयावधिमा वैशालीबाट आएका लिच्छविहरुले नेपालमा शासन गरिरहेका किराँति राजाहरुलाइ लखेटी आफ्नो शासन सत्ताको जग बसाले र मनुको वर्णानुक्रम अनुसार तत्कालीन नेपालमा रहेका ब्राह्मण,क्षेत्री,लिच्छवि, कोलीय, शाक्य, गुप्त आदिबाट विकसित भएका नेवार, किराँति राई, लिम्बू, मंगोलियन गुरुङ, मगर, तामाङ लगायतलाइ चार वर्ण र अठार जातमा विभाजन गरे। तर उक्त जातिय विभाजनमा विभेद भन्ने थिएन, काम अनुसार जात परिवर्तन हुने चलन थियो। त्यतिबेला यो क्षेत्रभित्र भारतवर्षका गणराज्य भनेर चिनिने सयौं स्वतन्त्र देश थिए। जसमध्ये किराँती राज्य नेपाल पनि एक थियो, भारत नामको कुनै देश थिएन यस क्षेत्रलाई प्राचीन कालदेखिनै भारतवर्ष भनेर चिनिन्थ्यो।  जब  (इस्वि संवत८७९-१३००) मा दक्षिणबाट नेपाल भित्रीएका ठकुरी वंशका मल्लहरुले  लिच्छबीलाई परास्त गरि आफ्नो शासन चलाउन थाले त्यही क्रममा आजभन्दा झन्डै ७०० वर्ष अगाडि,१४ औँ शताब्दीतिर राजा जयस्थिती मल्लले भारतिय गणराज्यबाट  महिनाथ भट्ट , श्रीनाथ भट्ट लगाएतका हिन्दु गुरुहरुलाइ बोलाएर धर्मनितिका आधारमा भन्दै विभेदपुर्ण ४ वर्ण ६४ जातको व्यवस्थायुक्त मानव न्यायशास्त्र निर्माण गरे र छुवाछुत जस्तो कुसंस्कारको बलियो जरो नेपाली समाजमा गाडियो।
राजा जयस्थिति मल्लको पालामा सङ्गठित गरिएको वर्ण व्यवस्थालाई पछि गोरखाका राजा रामशाहले वि:स १६०५ मा कानुनी रुपमा ४ वर्ण ३६ जात बनाए। पछि बाइसे चौबीसे राज्यलाई एकीकरण गरी पृथ्वी नारायण शाहले सबै जातजातिलाई हिन्दुकरण गरे यसैलाई निरन्तरता दिदै  पृथ्वीनारायण शाहका नाती राजा रणबहादुर शाहले वि:स १८४३ मा पुर्वमा टिस्टा देखी पश्चिममा काँगडासम्मका सम्पुर्ण जन्ताले दशैं मान्नुपर्ने कानुनमा लालमोहर लगाए।
अझ नेपालको इतिहासमा सबैभन्दा धेरै छुवाछूतलाई मान्यता वि:स १९१० मा जङ्ग बहादुर राणाले ल्याएको मुलुकी ऐनले दियो। उक्त ऐनमा जात अनुसारका कार्य र गल्तिमा दिइने सजाय पनि जात अनुसारनै तोकिएको थियो। कथित ठूलो जातका मान्छेले ठूलो गल्ती गरेपनि कम सजाय र सानो जात भनिनेले सानो गल्ती गरेपनि ठूलो सजाय भोग्नुपर्थ्यो। त्यतिबेला यस्तो सम्म भयोकी राणा खानदानलाइ रिझाउन सक्ने दलित पनि ब्राह्मण र राणा खानदानलाई रिझाउन नसक्ने कैयौं ब्राह्मण - क्षेत्री पनि दलित भए। यसरी वि:स २००७ सालमा राणा शासन हटेर प्रजातन्त्र स्थापना हुँदासम्म नेपालमा १२५ जात बनेका थिए भने जातिय भेदभावपुर्ण छुवाछुत चरम अवस्थामा थियो।
                   हाम्रो देश नेपालमा सर्वप्रथम जातिय विभेदको अन्त्य हुनुपर्छ भनेर चेतना फैलाउने काम वि:स २००४ सालमा बाग्लुङ जिल्लाबाट सुरु भएको देखिन्छ। यो नै नेपालमा छुवाछूत विरुद्धको पहिलो कदम थियो। त्यसपछि बिस्तारै देशैभरी जातिय विभेद उन्मुलन सम्बन्धि कार्यक्रम हुन थाले। त्यतिबेलाको समयमा छुवाछूत विरुद्व बोल्न ठूलो साहस जुटाउनुपर्थ्यो। त्यतिबेलाको समाज जातिय विभेदको खाडलमा यसरी फसेको थियोकि जसमा सुधार ल्याउन असम्भव जस्तै देखिन्थ्यो। अन्तर्जातको त कुरै छोडौं त्यो समयमा दलित- दलित, जनजाती-जनजाती , क्षत्री-क्षत्री र ब्राह्मण- ब्राह्मणबिच पनि चरम भेदभाव थियो। जुन केही मात्रामा अझै पनि देख्न सकिन्छ। वि:स २०२० सालमा तत्कालीन राजा महेन्द्रले छुवाछुत गर्न नपाउने कानुन घोषणा गरे। जुन कानुनलाइ नेपालमा कानुनी रुपमा विभेदलाइ हटाउने पहिलो कोषेढुङ्गा मान्न सकिन्छ भने नेपालको अन्तरिम संविधान वि:स २०६३ ले  देशलाइ छुवाछुत मुक्त राष्ट्रको घोषणा गरेको थियो। त्यस्तै नेपाल अधिराज्यको संविधान वि:स २०७२ मा पनि दलित हक अधिकार सम्बन्धि ब्यबस्था गरिएको छ। भने विश्वव्यापी रुपमा नेपालले सबै प्रकारको जातीय विभेद उन्मूलनगर्ने महासन्धि १९६९ लाई सन् १९७१ मा नै अनुमोदन गरेको थियो।

✡️नेपालमा जातिय विभेद उन्मूलनका समस्या र समाधानका उपायहरु
  नेपालमा जातिय विभेदविरुद्ध धेरै आन्दोलनहरु भए। जस्तो प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको पन्चायत विरुद्धको आन्दोलनमा पनि जातिय विभेद उन्मुलनका नाराहरु समेटिएका थिए। वि:स २०५२ मा सुरु भएको माओवादी जनयुद्धले पनि जातिय भेदभाव हटाउनुपर्छ भनेर जोडदार पहल गरेको थियो। अन्य धेरै क्षेत्रीय तथा राष्ट्रिय आन्दोलनहरु भए ती प्रत्येक आवाजहरुमा पनि कहिँ कतै दलित- जनजातिका मुद्दाहरु समावेश गरिएका छन। आज राजा महेन्द्रले कुनै पनि किसिमको जातिय विभेद गर्न पाइदैन भनेर कानुन बनाएको पनि  झन्डै ५७ वर्ष भइसक्यो, हाम्रो देश नेपाल छुवाछुतमुक्त घोषणा गरिएको पनि आज झन्डै १४ वर्ष पुगिसक्यो तर बिडम्बना भन्नुपर्छ मान्छेहरुको मनमा, नेपाली जनमानसको हृदयमा, हाम्रो समाजको बनावटमा अनि हामि आफैको मौलिकतामा अझै पनि छुवाछूत हटेको छैन।
                    आज समाजमा हुने अत्यधिक वलात्कार, हत्या र हिंसाका घटनाहरु दलित लक्षित देखिन्छन। वर्षेनी जातिय विभेद झल्काउने खालका सयौं घटनाहरु हुन्छन। आकल-झुकल केही होलान, सोमपाल कामी जस्ता केही व्यक्तिले माथिल्लो जातको केटिसँग स्वतन्त्र पुर्वक मागी विवाह गरेका घटना, केही होलान दलितलाइ पनि उच्च सम्मान मिलेका घटना तर यहाँसम्मकी कानुन निर्माण गर्ने तहमा पुगेका स्थानिय तथा संसदिय जनप्रतिनिधी, राष्ट्रिय स्तरका कलाकार तथा अन्य वौद्विक व्यक्तित्वले समेत जातका कारण अपमान  सहनुपरेका कैयौं घटना हाम्रै अगाडि अथावत छन। अझै पनि सामाजका तप्का-तप्कामा जातिय विभेद छ। छुवाछुतले मान्छेको वाहिरी आवरणमा भन्दा ज्यादा भित्री हृदयमा ठाउँ बनाएकोछ। तब त कुनै दलित नेता तथा उच्चपदस्थ कर्माचारीलाइ सम्मान गर्नुपर्दा कथित उपल्लो जातका मान्छेहरुले सम्मान र इज्जतको साथै नाक पनि बङ्गाइरहेका हुन्छ्न। नेपालमा आजसम्म जातिय भेदभावसँग सन्बन्धित हिंसापुर्ण छुवाछूतका घटना कती भए प्रश्न  त्यो होइन किनकी लगभग सात सय वर्ष पहिलेदेखी दलित-जनजातिहरुले विभेद भोग्दै र सहँदै आएका छन, दलित लक्षित वार्षिक सयौं घटना हुने गरेका छ्न। हाम्रो खोज यो हुनुपर्छकि जातिय उत्पीडितमा परेका सामुदायलाइ कसरी माथी उठाउने, सयौं वर्षदेखी आफ्नै देशभित्र आफ्नै राज्य र ब्राह्मण-क्षत्री दाजुभाइको दमनमा औपनिवेशिक नर्क जिन्दगी बिताउन बाध्य सामुदायलाइ कसरी बराबरको स्थितिमा ल्याउने?
                 छुवाछुत विरुद्व आन्दोलन गर्यौ, कानुन बनायौ,देशलाइ छुवाछूत मुक्त राष्ट्र घोषणानै गर्यौ, सामाजका तप्का-तप्कामा पुगेर जातिय समानताका नाराहरु घन्कायौं, जनचेतना फैलायौं, शैक्षिक गतिविधी पनि दुर्त गतिमा बढायौं, तर अझैपनि जातिय भेदभाव जहाँकोतहिँ छ, देशका करिब १३.८ % दलित सामुदाय मरिमरी बाचिरहेका छन। वर्षेनि छुवाछूतका घटना बढेको बढ्यै छन, काठमाडौं- पोखरा जस्ता शिक्षित शहरमा दलितले बस्ने कोठा पाउदैन्न, अझै पनि दलितले खाएर माझेको भाँडो सुनपानीले चोख्याइन्छ, अझै पनि कुनै काम बिग्रीयो भने नजिकै रहेको दलित सामुदायको मान्छेलाइ अशुभताको प्रतीक बनाइन्छ, अझैपनि दलित परिवारका युवायुवतीले राम्रा देखिए,पढेलेखे, राम्रो जागिर गर्ने भए  भने हाम्रै मुखबाट अनायासै निस्किन्छ "हेर त दलित भएर पनि कति राम्रा देखिएका, दलित भएर पनि कति पढेलेखेका" ताकी दलितले पढ्नु, राम्रो हुनु अभिसापनै हो।, अझै पनि कुनै दलित परिवारको कसैले गलत काम गर्योकि हामी सबै दलित सामुदायलाइ दोष दिन्छौ कि दलितले आफ्नो औकात देखायो भनेर तथा यी दलितहरु यस्तै हुन भनेर यी यावत कुराहरुलाइ हेर्दा दलितप्रतिको सामान्य बाहिरी व्यवहारमा सकारात्मक परिवर्तन देखिएपनि मनमा रहेको दलितप्रतिको घटिया सोँचलाइ हामी ठुला बडा भनिएका कथित माथिल्लो जातकाहरुले हटाउन सकेका छैनौ। हामी परिवर्तन चाहान्छौ तर हामिलाइ छुवाछूतको आदत परिसकेको छ। फेरि पनि यसो हेर्दा हामिले छुवाछुत हटाउन लागी कुनै पनि कसुर छोडेका छैनौ आखिर हामी कहाँनेर चुक्यौं त?
                       दलित आन्दोलन व्यक्तिगत स्वार्थपुर्तिका लागि भए, आफ्नो सशस्त्र सँघर्षको घोषणापत्रमै समावेश नगरिएको दलितको मुद्वालाइ माओवादिले दलित सामुदायको घर-घरमा पुगेर हामी तिमिहरुको लागि लड्दै छौँ भनेर दलित युवालाइ युद्वमा होमाए, दलितको माझबाटै तङ्ग्रीएका दलित अगुवाहरुनै ब्राह्मण-क्षेत्रीको स्वार्थमा प्रयोग भए, जातिय  भेदभाव उन्मुलन र दलित मुक्तीका लागि भन्दै नेपालमा भित्रीएका अन्तराष्ट्रिय गैरसरकारी सँस्थाहरु ग्रामिण जन्ताको गरिबिलाइ अस्त्र बनाइ धर्म परिवर्तन गराउन थाले, अन्तराष्ट्रिय मानवअधिकारवादी सँस्थाका सञ्चालकहरु डलरमा रमाउन थाले। हामिले यो बुझेनौकी धर्म परिवर्तन गर्दैमा छुवाछुत हट्दैन भन्ने कुरा, हामीले आफ्नै जातभित्र भएको विभेद पनि हटाउन सकेनौ, हामिले छुवाछुत हटाउन त चाह्यौं तर दलित साथी- भाइ तथा उनिहरुका परिवारसँग घुलमिल हुने आदत बसाल्न सकेनौ।कानुनत राज्यलाइ जातिय भेदभावमुक्त घोषणा त गरियो तर देशको राजधानिलाइनै छुवाछूतबाट मुक्त गर्न सकिएन, जातिय भेदभाव गर्नु हुँदैन भनेर सामाजिक शिक्षा पढाउने शिक्षकलेनै दलित सामुदायको विद्यार्थि र ब्राह्मण,क्षत्री थरको विद्यार्थीबिच विभेद गरे, राज्यले समाजको कुना काप्चामा पुगेर जातिय विभेद गर्नुपर्छ भनेर कुनै पनि धर्मग्रन्थमा लेखेको छैन त्यसैले दलितलाइ घरभित्र पस्न दिदा देवता रिसाउने कुरा हुँदैन भनेर बुझाउन सकेन, हामी शिक्षित वर्गहरुले पनि हाम्रो हृदयमा लुकेर रहेको दलितप्रतिको कुण्ठालाइ हटाउन सकेनौ, आफुलाई दलित सामुदायको आफ्नो साथिको ठाउँमा राखेर हेर्न सकेनौ, दलितले भोगेका पीडा हामी माथिल्लो जातका भनिनेहरुले महसुस गर्न सकेनौ साथै संविधानमा लेखिएका छुवाछुत विरुद्धका कानुनलाइ राज्यले स्वतन्त्र कार्यान्वयन गर्न सकेन। र अर्को महत्वपुर्ण कुरा के भने दलित भन्ने जुन शब्द छ, हुन त यो शब्द सदिऔंदेखी दविएका हाम्रै दाजुभाइहरुको पहिचान हो तर यो शब्द लेख्दा, बोल्दा आफैमा विभेद भएको महसुस हुने भएकोले यो शब्दनै नेपाली शब्दकोष तथा हाम्रो दिल-दिमागबाट मेट्नुपर्ने, अन्त्य गर्नुपर्ने अवस्थामा राज्यलेनै दलित भन्ने शब्दलाइ  पहिचानको आधार बनाइदियो, संविधानको धारामा समावेश गर्दियो। यिनै यावत कारणहरुले गर्दानै छुवाछूत उन्मुलन सम्बन्धि प्रयाप्त कानुनका बाबजुत आजको २१औ शताब्दीको विकसित युगमा आउदा पनि हाम्रो सामाजमा छुवाछूत हट्न सकेको छैन।

                      मलाइ के लाग्छ भने हामी सबै मानव हौँ, मानवताको कुनै जात हुँदैन। भने एक समतामुलक,जातिय समानता भएको समृद्ध समाज निर्माणका लागि हामी आफैले हामिभित्र भएको आफुप्रतिको,आफ्नाप्रतिको र आफुभन्दा फरक भनिने जातहरुप्रतिको कुण्ठा,अहंकारलाइ त्याग्न सक्नुपर्छ। भनिन्छकि आदतनै प्रेम हो।" र यो सत्य पनि हो कि  हामीले जे कुरामा आदत बसाल्छौं त्यो कुराको माया लाग्न थाल्छ त्यसैले आफू भन्दा फरका जातका साथीहरुसँग घुलमिल हुने आदत बसालौं, सरकारले पनि हरेक सामाजिक क्षेत्रमा हरेक प्रकारका जातहरु घुलमिल हुन सक्ने वातावरण बनाउनुपर्छ। राज्यका हरेक अंगमा सुनिस्चित गरिएका दलित-जनजातिका हक-अधिकारलाइ पुर्ण रुपले लागू गर्नुपर्छ, प्रथम त दलित- जनजातीहरुलाइ राज्यका हरेक क्षेत्रमा छिटो भन्दा छिटो समावेश गरि देशका कुना-कन्दारामा कुनै पनि किसिमको जातिय विभेद नहुने अवस्था सृजना गर्दै, दमनमा परेका सामुदायलाइ अधिकारसम्पन्न गराएर दलित भन्ने शब्दलाइनै हटाउने पहल गर्नुपर्छ, जातिय विभेद भएका घटनामा मेलमिलापको कुरा हटाउनुपर्छ ताकी दोषी जसरी पनि सजायको भागिदार हुनुपरोस, मानव-मानव विच हुने कुनैपनि विभेदको विरुद्धमा स्वयम् राज्य लाग्नुपर्छ,हामी उपल्लो जात भनिनेहरु लाग्नुपर्छ, स्वयम् दविएका सामुदाय लाग्नुपर्छ ताकी हामीले आफ्नै जातभित्र पनि छुवाछूत भोग्नु नपरोस तबमात्रै जातिय विभेद उन्मुलन हुन सक्नेछ।

✡️वर्ग,जात तथा समावेशीकरण
           हाम्रो समाजमा दलित हुन र गरिब हुनु नितान्त फरक कुरा हुन। एक दलितले जे-जे समस्या भोनुपरेको छ त्यो समस्या गरिब ब्राह्मणले भोग्नुपर्दैन। एकाध घटना बाहेक समस्या धनमा होइन, समस्या जातमा देखिएको छ। एकपटक विचार गरौं, छुवाछुतलाई पालना गर्ने पुरातनवादी सोच भएका हाम्रा बा- आमाले जसरी एक  गरिब ब्राह्मणसँगै बसेर खाना खान सक्छन, के त्यसरी नै दलितसँगै बसेर खाना खान सक्छन त? यो त एउटा उदाहरण मात्र हो हामिले खोज्यौं भने यस्ता सयौं तथ्य भेटाउन सक्छौं। कुरा के हो भने एक गरिब ब्राह्मणले जसरी आफुलाइ स्वतन्त्र महसुस गर्न सक्छ त्यसरी एक धनी दलितले पनि स्वतन्त्र महसुस गर्न सकेको पाइदैन। हुन त हाम्रो देशमा वर्ग निर्माण गर्न प्रमुख भुमिका जातीय विभेदलेनै खेलेको छ तर त्यो भन्दा धेरै क्षेत्रीय उत्पीडनले प्रभाव पारेको छ। जस्तो कर्णालिको ब्राह्मण त्यहाँको दलित भन्दा सम्पुर्ण हैसियतमा माथी छ तर त्यही ब्राहमणको जिवनस्तर काठमाडौको दलितको भन्दा कम्जोर छ। तर पनि तराइको हरि सिंह नामको व्यक्ति राजपूत हो भनी थाहा हुनेबित्तिकै भन्न सकिन्छ कि ऊ मोही किसान होइन। त्यस्तै गरी गुल्मी जिल्लाको हरि परियार दमाईं जातको हो भन्ने थाहा पाउनेबित्तिकै भन्न सकिन्छ कि ऊ सामन्ति होइन, त्यस्तै दार्चुलाको दिपक जोशी ब्राह्मण हो भनी थाहा पाउनेबित्तिकै भन्न सकिन्छ कि ऊ हलिया प्रथाअन्तर्गतको हली होइन। यो बुझौंकि नेपालमा जात व्यवस्थामा आधारित सामन्तवाद थियो र वर्ग निर्माणको मुख्य एवं निर्णायक तत्त्व पनि जात व्यवस्था नै हो। त्यसैले राणाकालमा जति कथित ठूलो जात, त्यति नै माथिल्लो वर्ग र जति कथित सानो जात, त्यति नै अधिकारविहीन तल्लो वर्गका रूपमा नेपाली समाज चित्रीत थियो जुन आज पनि छ।
                     त्यसैले यसो हेर्दा नेपालि समाजमा भौगिलिक विकटताका  क्षत्रीय उत्पीडनको सिकार भएका कारण शहरको दलित, जनजाती धनी र गाँउको क्षेत्री,ब्राह्मण धनी देखिनु स्वभाविकनै हो।तर पनि समग्रमा हेर्दा शहरको धनी दलितले जुन विभेद भोगेको हुन्छ त्यो त गाँउको ब्राह्मणले भोगेको हुँदैन। उस्ले जहाँ गएपनि आमानित हुनुपरेको छैन, सरकारी निकायका हरेक क्षेत्रमा उस्कै अनुहारका मान्छेहरु छन। र अर्को कुरा के भने हामी केही शिक्षित वर्गले समावेशीकरण वा राज्यले दमनमा परेका वर्गकालागी छुट्याएको आरक्षणलाई  पैसा र गरिबिसँग तुलना गर्यौं।जुन बिल्कुल गलत र उल्टो बुझाइ हो त्यस्तै आरक्षण कोटामा परेकोले जागिर खाँदा असक्षम व्याक्ती राज्यको कार्यप्रणालिमा जान्छ भन्ने सोचाइ पनि गलत हो।
हामी यो बुझौंकि आरक्षण प्रणाली शताब्दीऔंदेखि दमनमा परेका, राज्यको माथिल्लो तहमा नभएका वर्गका लागी ल्याइएको प्रावधान हो। जसले उत्पीडनमा परेका सामुदायलाइ राज्यको मुलधारमा  ल्याउन सहयोग पुर्याउछ ताकी एक उत्पीडन सामुदायको व्याक्ती राज्यबाट पाउने कुनै पनि किसिमको सेवा लिन जाँदा त्यहाँ आफ्नो अनुहारको मान्छे देखेर सहज महसुस गरोस। त्यस्तै राज्यका हरेक निकायमा हरेक जातका मान्छे समावेश होउन। अब रह्यो, असक्षमताको कुरा, आरक्षण प्रणालिबाट सेवा क्षेत्रमा प्रवेश गरेको मान्छेले पनि उक्त जागिरको लागि चाहिने निश्चित मापदण्ड पूरा गरेरै गएको हुन्छ। त्यसैले अहिलेको संकटकालिन परिस्थितिमा आएर आरक्षण प्रणाली र समावेशीकरणलाइ हटाउनुपर्छ भन्नू उत्पीडित सामुदायलाइ उपेक्षित गर्नु हो।
एक कम्जोर घोडा र बलियो घोडालाइ बराबर हुन, भनेर एकै किसिमको प्रतियोगितामा दौडाउनु मुर्खता हो त्यसैले पहिले कम्जोर घोडालाइ बलियो बनाउनतर्फ लागौं।

✡️अन्त्यमा
                
                 रुकुम हत्याकाण्ड नितान्त जातिय विभेदबाट प्रेरित भइ घटाइएको नरसंहार हो। हाल मृत्यु भएका युवाहरु जिवित भएको भए तथा गाँउलेले तिनिहरुको हत्या नगरेको भए के हुन्थ्यो भन्नेतिर नगएर अब के भयो भन्नेतिर ध्यान दिएर दोषिलाइ कानुनको कठघरामा उभ्याउन सकियो भने मात्रै पिडितले न्याय पाउनेछन। विगतमा भएका जातिय विभेदका घटनामा राज्यले हेलचक्राइ गरेका कारणको नतिजा हो रुकुम घटना, त्यसैले भोलिका दिनहरुमा कुनैपनि किसिमका छुवाछूतयुक्त कार्य हुन नदिन र मृतक युवाहरुका परिवारलाई न्याय दिलाउनका लागि पनि दोषिले हत्या र जातिय विभेद दुवै गरेको प्रमाणका आधारमा शक्त कारबाही गरियोस भन्ने सबै न्याय प्रेमी जन्ताको चाहाना हो।
                       छुवाछुत प्रथा मानवियताको शत्रु हो। यस्लाइ अङ्गाल्नु भनेको आफुलाइ राक्षस बनाउनु हो, २१औं शताब्दीमा आएर जातियताको दम्भ देखाउनु मुर्खता पर्दशन गर्नु हो त्यसैले मानव धर्मको पालना गरौं, मानवीय भावना कायम राखौं। अन्तर्जातिय विभेद हटाउनु भन्दा पहिले आफ्नै जातभित्र भएको विभेद्को अन्त्य गरौं। विशेष गरेर हामी कथित उपल्लो जात भनिएकाहरुले आफुमा भएको जातियताको दम्भ त्यागौं, आफ्ना सन्तानलाइ जातिय विभेदबाट टाढै राखौं। अबका दिनमा खुल्याम तल्लो जात र उपल्लो जात भन्ने अनि एकान्तमा दलित युवतीमाथी सलबलाउने हातहरु काट्नुपर्छ, बाहिर दलितहरुलाइ भैँसि खाने भनेर हेप्ने अनि दलितको घरमा भैँसी काटेको थाहा पाउनेबितिकै रातारात गएर उस्को भाग पनि नछोडी ल्याउनेहरुलाइ बहिष्कार गर्नुपर्छ, बाहिर दलित मुक्तिका कुरा गर्ने अनि भित्र आफ्नै परिवारमा दलितकि छोरी बिहे गर्ने छोरालाइ गाउँ निकाला गर्नेलाइ कालोमोसो दल्नुपर्छ, समावेशीताको नारा बोक्ने तर आफ्नो पार्टिमा उत्पीडित सामुदायको कसैलाइ पनि ठाउँ नदिने राजनितिक पार्टिलाइ हराउनुपर्छ, जातिय विभेद देखिने खालको कुनै पनि घटनालाइ दवाउनु हुँदैन। बरु सार्वजनिक गरिहाल्नुपर्छ तबमात्रै छुवाछूत हटाउन सकिन्छ। उत्पीडनमा परेका सामुदायलाइ माथी उठाउनु, उनिहरुलाइ न्याय दिलाउनु तथा एक समृद्ध- समतामुलक समाजको निर्माण गर्नु आजको आवश्यकता हो भने न्यायपुर्ण समाज निर्माणको पहलमा जोड दिइ जातिय भेदभावलाई जरैबाट उखेली उत्पीडित सामुदायलाइ माथी उठाउनु हामी सबैको दायित्व हो।
             

Comments