मदन भण्डारीको संक्षिप्त्त जिवनि र दासढुङ्गा प्रकरण

 " २७ औं मदन-आश्रीत स्मृति दिवस "

जन्ताको बहुदलीय जनवादका सिद्धान्तकार,प्रखर युवानेता,राष्ट्रियताका प्रतीक तथा नेकपा एमालेका तत्कालीन महासचिव "मदन भन्डारी" र संगठन विभाग प्रमुख जिवराज आश्रीतको रहस्यमयी सडक दुर्घटनामा निधन भएको पनि आज २७वर्ष पुगेसकेछ।
उनको उदय र निधनमा म जन्मिएकै थिएन। तर जब जान्ने भइसकेपछी मैले नेपालको इतिहासका महापुरुषहरुको खोजी  गरेर अध्ययन गर्दा,यताउता बुझ्दा कसैको बारेमा त्यति सकारात्मकता,सौहार्दता, मान्छेहरुमा अधिक सम्मान कसैप्रती पाए भने ती थिए प्रजातन्त्र स्थापना भन्दा पहिलेका नेपाल एकीकरणका पिता "पृथ्वीनारायण शाह", प्रजातन्त्र स्थापना कालका महान नेता,साहित्यकार तथा प्रजातान्त्रिक समाजवादका सुरुवातकर्ता "वि.पि कोइराला"  तथा नेपालको कम्युनिस्ट आन्दोलनका विशिष्ट सिद्वान्तकार जननेता "मदन भण्डारी"
"को थिए जननेता मदन भण्डारी?"
नेपालको लोकतान्त्रिक आन्दोलनको प्रखर युवा र कम्युनिष्ट आन्दोलनका विशिष्ट नेता थिए "मदन भण्डारी",जनताको बहुदलीय जनवादका प्रतिपादक थिए "मदन भण्डारी", सामन्तवाद विरोधी आन्दोलनका अगुवा तथा गणतन्त्रका प्रवल पक्षधर थिए "मदन भण्डारी"
नेपालको पुर्वी पहाडी जिल्ला ताप्लेजुङको तत्कालिन ढुङ्गेसाँघु गाविसमा पर्ने "ठोट्ने" गाँउमा पिता देविप्रसाद भण्डारी र माता चन्द्रकला भण्डारीको कोखबाट माइलो छोराको रुपमा वि:स २००९ साल असार १४गते जन्मिएका मदन "भण्डारी"को न्वारनको नाम मोतिराज भण्डारी थियो।
ताप्लेजुङमा प्रारम्भिक पढाइ सकेपछि आचार्य र एम्.ए गर्न बनारास बिश्वबिध्यालय गएका उनले डबल एम.ए गरेका थिए। बनारसको विद्यार्थी जिवनमा विशेष गरि भारतका कम्युनिस्ट नेताहरु ज्योति बासु, तत्कालीन भा.क.पा का नेता हरिकिशुन सुरजीत साथै नेपाली नेताहरु वि.पि कोइला,पुष्पलाल, मनमोहन अधिकारी, मोहन बिक्रम सिंह, नर बहादुर कर्माचार्या तथा साहना प्रधानसँगको सम्पर्कले उनलाइ नेपालको आमूल परिवर्तनको लागी सोँच्न बाध्य बनायो। भण्डारीको बामपंथी राजनीतिप्रतिको झुकाव, सक्रियता, क्रान्तिभाव साथै देशभक्तपुर्ण आमुलपरिवर्तनको सोँच वनारसको अध्ययनको क्रममै बढेर गएको देखिन्छ।


राजनीतिक जीवन:-

वि.स २०२८ सालमा बनारस विश्वविद्यालयमा पढ्न जाँदाको समयमा नै उनि वामपन्थी राजनितिक प्रभावमा परिसकेका थिए। त्यस्तै वि:स २०२७/२०२८ सालतीरको चरम गरीबी, पन्चायतको हुकुमी शासन,सामान्तहरुद्वारा शोषण, किसान तथा मजदूर माथीको दमन चरम सीमामा पुगेको अवस्थामा तेह्रथुमबाट भर्खर झरेका खड्ग प्रसाद ओली, रामनाथ दाहाल, कृष्ण कुँइकेल,बिरेन राजवंशी, चन्द्र प्रकाश मैनाली, आर.के मैनाली, जीवन घिमिरे र झलनाथ खनाल लगायत को नेतृत्वमा सुरु भएको सामन्तवाद विरुद्धको सशस्त्र आन्दोलनमा पछि गएर मदन भण्डारी पनि जोडिए।
                       विशेष गरेर मदन भण्डारीको राजनितिक यात्राको सुरुवात पुष्पलालसँगको भेटपछि भएको पाइन्छ। पुष्पलालसँग भेट भएको एकवर्षपछी उनी वि.स २०२९ सालमा पुष्पलालको पार्टिले निर्माण गरेको साँस्कृतिक मोर्चाको केन्द्रीय सदस्य बने। वि:स २०३० सालमै उनी त्यसको पुर्णकालिन सदस्य समेत भए। वि:स २०३३सालमा उनी लगाएत केही नेता मिलेर  मुक्तिमोर्चा समुहको निर्माण गरे। त्यसपछी उनिहरुले पुष्पलाल को पार्टिसँग विद्रोह गरि मुक्ती मोर्चालाइ "को-अर्डिनेसन केन्द्र"मै मिलाए। उक्त संगठन विकास हुँदै वि:स२०३५सालमा "नेकपा माले"को नाममा स्थापित भयो। जसमा मदन भन्डारी केन्द्रीय सदस्य बने। त्यसैगरि वि:स२०४१ साल बैशाखमा नेकपा मालेको पोलिट्ब्युरो सदस्य भए।
वि:स २०४६ सालको जनआन्दोलनपछि भुमिगत जीवन बाहिर आइ मदन भण्डारीले नेपाल कम्युनिस्ट पार्टी "माले" र मनमोहन अधिकारीद्वारा नेतृत्व गरिएको नेकपा "मार्क्सवादी"पार्टिलाइ एकीकरण गरि नेकपा "एमाले"को गठन गर्न महत्त्वपूर्ण भुमिका खेले र उनी उक्त एकीकृत पार्टी एमालेको महासचिव भए। जन्ताको बहुदलीय जनवादको प्रतिपादन गरेका उनी वि:स २०४८ सालको संसद चुनावमा नेपाली काङ्ग्रेसका तत्कालीन सभापती तथा अन्तरिम प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईलाइ पराजित गरि काठमाडौ क्षेत्र न.१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए।
अब मदन भण्डारी जन्तामाझ राम्रैसँग चिनिन थालेका थिए। कठोर,तिखा र ठेट राजनितिक शब्दावली प्रयोग गरेर बोल्ने उनका भाषणका हरेक तप्कामा सिट्ठी र ताली बज्थे। उनको भाषणमा जादु थियो। तत्कालिन समयमा राजालाइ टक्कर दिन सक्ने खुबी उनैमा थियो। त्यतिबेला विश्वप्रसिद्ध अमेरिकी पत्रीका न्युजविकले समेत प्रशंसा गर्दै उनका बारेमा "कार्ल मार्क्स लिभ इन" नेपाल भन्ने समाचार समेत छापेको थियो।

जिवनशैली र राजनितीक विचार:-

मदन भन्डारी सिद्धान्तमा जहिले पनि अडिग रहन्थे। नीति तथा कार्यक्रम तय गर्दा सधै देश र जन्ताको स्वार्थ हेर्थे। भनिन्छ,उनी कहिल्यै पनि आर्थिक विवादमा परेन्न उनी पार्टिको महासचिव जस्तो शक्तिशाली पद ग्रहण गर्दापनि सामान्य डेरामा बस्थे। उनि सामन्त, शोसक तथा त्यसलाइ सहयोग गर्ने दलालप्रति अत्यन्तै कडा ढंगले प्रस्तुतु हुन्थे। सादा पोसाक, प्राय कालो भादगाउँले टोपी, सामान्य चस्मा, जाडोमा सस्तो तर सफा जाकेट, प्राय जिल्ला जांदा पैदलै हिँडने तथा जनतासँग अत्यन्तै राम्रो सम्बन्ध राख्न सक्ने खूबि उनमा थियो।

यसो हेर्दा मदन भण्डारीको राजनीतिले नेकपाका संस्थापक पुष्पलालको विरासत बोकेको पाइन्छ।
उनको विचारले माओद्वारा प्रयोग गरिएको मजदुर-किसान वर्गको संयुक्त हिंसात्मक हस्तक्षेपबाट स्थापित हुने सर्वहारा अधिनायकत्व सहितको नौलो जनवादी व्यवस्था परित्याग गर्न ठूलो पहल गरेको देखिन्छ।
भण्डारीको विचारमा मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सामाजिक न्याय र प्रतिस्पर्धी राजनीतिक प्रणाली कुनै खास ‘वाद’ विशेषको एक्लो पुँजी नभएर मानवजातिले सयौं वर्षको संघर्षद्वारा प्राप्त गरेका उपलब्धि हुन् । जसलाइ हामिले ग्रहण गरेर वर्गीय चेतनाको मार्क्सवादी दर्शनका आधारमा श्रमजीवी जनताको पक्ष लिइ प्रतिस्पर्धामा आफूलाई अब्बल साबित गर्नुपर्छ भन्ने थियो।
अर्थात जुन राजनीतिक कार्यसूचीलाई संसारभरिका कम्युनिस्टहरूले ‘रणनीतिक’ उपयोगका लागि छुट्याएका थिए र छन्, तिनलाई उनले सैद्धान्तिक प्रस्थापना गरेको देखिन्छ ।
दार्शनिक आधारका रूपमा उनको अर्को पक्ष बहुलताको अंगीकार हो । समाज, जीवन र प्रकृतिको बहुलतालाई फरक व्यक्तिका फरक विचारमा प्रतिविम्बित हुने नियमित गुण मानेर   स्विकार्नु जरुरी छ भन्ने उनको धारणा थियो।
आजका कम्युनिस्टले बहुदलिय जनवादी प्रजातन्त्रलाई उपभोग गर्दैछ्न भने यो उनकै देन हो।
यसरी पुरातन कम्युनिस्टहरूले नस्विकारेको बहुलवाद तत्कालीन एमालेले आफ्नो मुख्यत दर्शनमा स्विकार्‍यो।
उग्र क्रान्तिकारिताबाट यात्रा सुरु गर्ने कम्युनिस्ट पार्टीका लागि यो ठूलो परिवर्तन थियो।
जस्तो न्युटनको गुरुत्व आकषर्णको सिद्धान्तमा टेकेर आइन्स्टाइनले सापेक्षताको सिद्धान्त पत्ता लगाएका थिए त्यस्तै कम्युनिस्टको पुरानो सिद्धान्तमा टेकेर उनले जन्ताको बहुदलीय जनवादको सिद्धान्त पत्ता लगाएका थिए।
अर्को नयाँ कुरा उनमा के थियो भने उनी अहिंसावादी थिए। कम्युनिस्ट, त्यही माथी अहिंसा हुनै सक्दैन तर मदन भण्डारीमा थियो। उनको प्राथमिकतामा हिंसात्मक संघर्ष देखिँंदैन। उनको जीवनको अनौठो संयोग के देखिन्छ भने हिंसालाई एकपल्ट राजनीतिक कार्यसूची बनाइसकेको र फेरि बनाउन चाहने दललाई नेतृत्व दिएर त्यसबाट उनले अलग मात्र गरेन्न, आफूले समेत कुनै पनि हिंसात्मक संघर्षमा भाग लिएन्न।


साहित्य प्रती उनको रुची:-

साहित्यप्रती उनको विशेष झुकाव थियो।उनले जनवादी गितको रचना पनि गर्ने गर्थे। “ए हली दाई बाँधेर ल्याउ है सामन्ती ठुलेलाई” र “जमिन हुन्छ जोत्नेको धर्ती पुत्र,हे विर किसान हो” लोक लयमा आधारित यी गीतका रचयीता उनै थीए त्यस्तै झील्को,संकल्प लगायत कैयौं भूमिगत प्रकाशनमा उनका दर्जनौ क्रान्तिकारी लेख, विचार,कविता तथा गित छापिएका छन।



विवाह:-

वि:स २०३९ साल साउन २४ गतेका दिन पार्टिकै लगानिमा मदन भण्डारि र विध्या पाण्डेबिच प्रेम विवाह भएको थियो।भनिन्छ,उनिहरुले जनवादि विवाह गरेका थिए। उनिहरुको कोखबाट सन्तानको रुपमा दुई छोरिको जन्म भएको थियो।

"को थिइन विध्या पाण्डे":-
बाबु रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेकी जेठी छोरीको रुपमा वि:स २०१८ सालमा भोजपुरको
 मानेभञ्ज्याङ गाविस,२ स्थित अम्बोटे भन्ने स्थानमा जन्मिएकी थिइन विध्या पान्डे।
गाउँकै विद्योदय हाईस्कुलबाट एसएलसी गरेकी विध्या उच्च शिक्षाको लागि झापा पुगेकी थिइन। त्यतिबेला झापा आन्दोलनमा उनका काका खगेन्द्र सङ्लङ्गन थिए । उनकै प्रभावमा परेर उनी बामपंथी राजनीतिमा लागिन। वि:स २०३३ सालतिर पूर्वमा क्रियाशिल रातो झण्डा समूहसँग सम्पर्क भएपछि उनी कम्युनिस्ट बनिन्। क्याम्पस पढ्दै गर्दा मुलुुकमा नेकपा मालेको स्थापना भयो।
उनका बाजे गाउँकै प्रधानपञ्च थिए सोही कारण पनि विध्याको बाल्यकाल राजनीतिमय थियो।तत्कालीन परिवेशमा उनको परिवार कांग्रेसको राजनीतिमा सक्रिय थियो । उनका काका खगेन्द्रलेमात्रै वामपन्थी राजनीति गरेका थिए । अन्य काकाहरु कांग्रेसकै राजनीतिमा सक्रिय थिए । जोगिन्द्र पाण्डे नाम गरेका उनका काका त कांग्रेस नेता कृष्णप्रसाद भट्टराईका पीए नै थिए।


प्रेम जीवन :-

वि:स २०३६ सालमा राजनीतिक यात्राकै क्रममा विध्या पाण्डेसँग  मदन भण्डारीको पहिलो भेट भयो। त्यतिबेला मदन भण्डारीले पार्टी भित्रको उपनाम ‘कमरेड सागर’ राखेका थिए विद्यालाई सागर नै मदन हुन् भन्ने थाहा थिएन । सागरको नामले मदन भण्डारी भोजपुर पुगेका थिए । त्यतिबेलै उनीहरुबीच भेट भएको थियो। त्यतिबेलादेखि नै भेटघाट बाक्लियो। करिब २ पटकसम्म विद्यासँग भोजपुरमै मदनको भेट भयो। तेस्रो भेट विराटनगरमा भएको थियो ।
विद्या र मदनको प्रेम झाँगिनुमा केही वर्षअघि एमाले छोडेका संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईको भूमिका पनि महत्वपूर्ण थियो । राईले एक सिटमा यात्रा गराउनेदेखि खाना खाने ठाउँ एकै बनाउने काम गर्थे । राईले मदनलाई विद्याका बारेमा कुरा लगाउने काम गर्थे । राईकै भूमिकाबाट उनीहरुको विवाह भएको थियो ।
त्यतिबेला महिला राजनीतिमा लाग्नुलाई राम्रो मानिदैन्न्थ्यो । राजनीतिमा लागेको थाहा नहुँदासम्म छोरीलाई परिवारले राम्रै रुपमा हेर्थे तर उनी अनेरास्ववियुको पाँचौ राष्ट्रिय सम्मेलनमा सहभागी हुन काठमाडौंमा आएपछि घरका सबैले गाली गरे । काका खगेन्द्र त खोज्नका लागि भोजपुरबाट धरानसम्म आएका थिए। कलेजबाट प्रतिनिधित्व गरेर काठमाडौं आएकी उनलाई परिवारले विहे गर्न दबाब दियो तर विद्याले मानिन्न । केहीसमय मदनसँग प्रेम चल्यो दुई वर्षपछी उनिहरुले पार्टिमा विवाहको लागि निवेदन दिए। पार्टीले औपचारिक रुपमा सहमति दिएपछि उनिहरुको विवाह भयो।


मदन भण्डारीको रहस्यमयी अन्त्य र आजको नेकपा:-

वि:स २०५० साल जेठ ३ गते बेलुकी नेकपा एमाले कास्की जिल्ला अधिवेशन सकेर महासचिव भण्डारी र सँगठन विभाग प्रमुख जिवराज आश्रीत बा अ च ८७२३ नम्बरको जिपमा पृथ्वी राजमार्ग बाट मुग्लिङ हुँदै भरतपुरतिर लागे। सिमसिम पानी परिरहेको अवस्थामा जिप चितवनको दासढुंगा भन्ने स्थानमा पुग्दा असन्तुलित भइ तल नदीमा खस्यो।
कुपन्डोलको डेरामा बस्ने  माधव नेपाललाइ लेखनाथ कोइरालाले फोनमा ‘मदन भण्डारी र जीवराज आश्रितको जिप दुर्घटनामा पर्‍यो, जीवित हुने सम्भावना छैन’ भन्ने समाचार सुनाए। उक्त खबर सुन्ने बित्तिकै वामदेव गौतमसहित पार्टीका साथीहरुसँग माधव नेपाल दासढुंगातिर लागे।
गाडी लिएर उनीहरु त्यहाँ पुग्दा रातको ११:०० बजेको थियो।
त्यो रात यत्तिकै रह्यो। गाडी भोलिपल्ट भेटियो, जीवराजको लास गाडीमै थियो। मदनको भने कुनै अत्तो-पत्तो थिएन। तीन दिनपछि बल्ल तल गुन्जनगरमा उनको लाश भेटियो। गाडीका चालक अमर लामा भने जिउँदै थिए।
​त्यसको अर्को दिनबाट  ‘दासढुंगा हत्याकाण्डको छानबिन गर’ भन्ने नाराका साथ पार्टी देशव्यापी आन्दोलनमा उत्रीयो। ठूलो जनधनको क्षति गरियो,दबाब दिइयो।
त्यसपछी सरकारको नेतृत्व गरेका गिरिजाप्रसाद कोइरालाले एउटा न्यायिक छानबिन आयोग गठन गराए तर उक्त आयोगको प्रतिवेदन एमालेले स्विकारेन।
जनस्तरबाट गठन गरिएको पद्यरत्‍न तुलाधरको आयोगले दासढुंगा कान्डलाई षड्यन्त्र नै ठहर गर्‍यो। पार्टीको तर्फबाट गठन गरिएको आयोगको प्रतिवेदनले पनि षड्यन्त्र भएको निष्कर्ष निकाल्यो। जुन आयोगको नेतृत्व वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। नेकपा एमाले त्यसपछि भएको मध्यावधि चुनावपछि नौ महिनासम्म सरकारमा पनि बस्यो। तर यो घटनाको छानबिनतिर सिन्को भाँचेन। सेतो सारी लगाएर राजनीतिमा उत्रिएर चुनाव जितेकी मदन भण्डारी पत्नी विद्या भण्डारी अहिले राष्ट्रपति छिन्। घटनामा षड्यन्त्र देख्ने प्रतिवेदन तयार पार्ने ओली अहिले प्रधानमन्त्री छन्। देशका प्रमुख दुई पदमा प्रमुख दुई पात्र भएपनि ‘दासढुंगा हत्याकाण्डको छानबिन गर’ भनेर नारा लगाएका एमालेका कार्यकर्ताहरुले आफ्ना नेताहरुलाई अहिलेसम्म छानबिन किन नगरेको भनेर सोध्ने हिम्मतसम्म गर्न सक्दैनन्।
यस्तो देख्दा लाग्छकी कतै राजनीतिक स्वार्थ पुर्तिको लागि नेकपा एमालेका नेतालेहरुलेनै मदन भण्डारिको हत्या गराएका त होइन्न?
घटनाका एक मात्र जीवित साक्षी चालक अमर लामाको पनि २०६० साउनमा कीर्तिपुरमा गोली हानी रहस्यमय हत्या गरियो। यो हत्या कसले र किन गर्‌यो आजसम्म पनि पत्ता लाग्न सकेको छैन।
दुई नेताको पोस्टमार्टम गरेका श्याम  तामाङले पनि हत्या भएकै निष्कर्ष निकाले
“उनको शरीर मोटो थियो, पाइन्ट लगाउँथे। पाइन्टको बटम लगाएको छ भने मानिस पानीमा परे पनि पाइन्ट खस्दैन, खस्यो भने अन्डरवेयर पनि सँगै खस्छ। तर, मदनको शरीरमा पाइन्ट थिएन, खुकुलो इलास्टिकवाला अन्डरवेयरचाहिँ जस्ताको तस्तै थियो। पाइन्ट फुत्किने तर खुकुलो इलास्टिक भएको अन्डरवेयर सुरक्षित रहने, यो कसरी भयो ? मैले अहिलेसम्म बुझ्न सकेको छैन।” भन्ने उनको भनाइ थियो।
यसरी कम्युनिस्ट आन्दोलनका एक महान योद्धाको अवसान भयो।

अन्त्यमा:-

दासढुङ्गा दुर्घटना भएको २७ वर्ष पुगेको छ। यो सताइस वर्षको अन्तरालमा धेरै राजनीतिक परिवर्तन भए। हरेक पटक कम्युनिस्टहरु कुनै न कुनै माध्यमबाट सरकारमा रहे। करिब-करिब दस वर्ष जति त शासनै गरे, धेरैले धेरै कुरा पाए, दुर्घटनाको २३ वर्षपछि चावहिलमा डेरा गरि बस्ने मदन भण्डारी संगै मरेका जिवराज आश्रीतकी श्रीमति माया ज्ञवलीले नयाँ घर पाइन, मदन भण्डारिकी श्रीमती विध्या भण्डारी दुई-दुई पटक सम्म राष्ट्रपतिनै बनिन। दास ढुङ्गा दुर्घटनाको सम्पुर्ण दोष तत्कालीन सरकारमाथी थोपर्नुका साथै भण्डारिको हत्यानै भएको हो भनेर निष्कर्ष निकाली दोषिलाइ कारबाही गर्न माग गर्ने समुहका प्रत्येक नाइकेहरुले प्रधानमन्त्रीको स्वाद चाखिसके।
तर अहँ कसैले पनि मदन भण्डारी र जिवराज आश्रीतको हत्यारालाइ खोज्ने कोसिस गरेन्न। दासढुङ्गा दुर्घटनाका योजनाकरलाइ सजाय दिलाउने चेस्टा गरेन्न। बरु मदन भण्डारिको लासमाथी टेकेर सत्ता हड्पे,कुर्सिको घिनौलो खेल खेले। भन्डारिको बहुदलीय जनवादको सिद्धान्तलाई मुखको मन्त्र बनाएर जनमत ताने।भण्डारिको सपनालाई कुल्चिए।
जुन तानाशाहीको अन्त्यका लागि मदन भण्डारिले बहुल जनवादको प्रतिपादन गरेका थिए हो त्यही सिद्धान्तको प्रयोग गरेर सत्ता हाँसिल गरेका कम्युनिस्टहरु आज तानाशाही बन्दैछन।अधिनायकवादी हुँदैछन, प्रजातन्त्रको घाँटी निमोठ्दै छन।
मदन भण्डारीको मृत्युको खबरले यदि कोहि सबैभन्दा धेरै दुखी भयो भने ती उनकी धर्मपत्नी विध्या भण्डारी थिइन होला तर आज लाग्छ उनिनै सबैभन्दा खुशी थिइन। पतिकै नामको प्रभावले देशकै सर्वोच्च पदमा पुगेकी उनले एकपटक पनि दासढुङ्गा दुर्घटना प्रकरणको बारेमा छानबिन समिती गठन गर्ने पहल गरिन्न।बरु राजकिय शैलिमा जन्ताको पसिनामा रमाउने काम गरिन। त्यस्तै मदन भण्डारीको मृत्युमा भावविह्वल भएर उग्र भाषण गर्ने केपि ओलि आज दुइ-तिहाइ बहुमतको प्रधानमन्त्री छन तर उनले पनि विर्षिए दासढुङ्गालाइ, भुले मदन भण्डारी र जिवराज आश्रीतलाइ।
यँहिबाट थाहा हुन्छकी दासढुङ्गा दुर्घटनामा कस्को हात थियो।
तर अझै पनि नेपाली समाजले खोज्दैछ,
प्रश्न गर्दैछ खोइ कहाँ छन जिवराज आश्रीत र मदन भण्डारीको हत्यारा?

Comments